२०७५ मङ्सिर ५ बुधबार 04:26:17

फेसबुक च्याटले समस्यामा परेका २ किशोरीको चार दिनपछि उद्धार

बाँके, कात्तिक ३ – फेसबुकबाट चिनजान भएका व्यक्तिसँग कुराकानी गर्दै जाँदा दुई किशोरी समस्यामा परे । फेसबुक च्याट र मोवाइलमा कुराकानी गरेर नवलपरासीबाट बाँकेको कोहलपुर बोलाएर एक होटलमा चार दिनसम्म बन्धक बनाइएका उनीहरुको प्रहरीले उद्धार गरेको छ । 

उनीहरुलाई भारत लैजान लागेको अवस्थामा उद्दार गर्न सफल भएको प्रहरीले जनाएको छ ।

कक्षा ८ र १० मा अध्ययनरत १६ र १८ वर्षका दुई किशोरीलाई नवलपरासी दलदलेका गोपाल भुषालले राम्रो ठाउँमा जागिर मिलाइदिने भन्दै कोहलपुर बोलाएको पाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक वीरबहादुर थापाले बताउनुभयो । 

कोहलपुर पुगेपछि किशोरीहरुको हुलियासमेत परिवर्तन गरी ३० हजार बराबरको सामान किनमेल गराएको पनि प्रहरीले जानकारी दिएको छ । दाङ–दिल्ली रुटका बसका चालक गोपालले किशोरीहरुलाई फोन मार्फत कोहोलपुर बोलाएको र कोहोलपुरसम्म आउनका लागि गोपालले नै निःशुल्क बस मिलाइदिएको किशोरीहरुले बताएका छन् ।

गोपाललाई कात्तिक दुई गते नेपाल आएको बेला नेपालगन्ज भन्सार कार्यालय नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

फेसबुकबाट चिनजान भएका उनीहरुलाई असोज २८ गते गोपालले कोहलपुर बोलाएको थियो । उनीहरुलाई कोहलपुर चप्परगौडीस्थित प्यूठानी भुसाल होटलमा बन्धक बनाई राखिएको थियो । तिमीहरु दिल्ली जाने उतै बस्ने र काम पनि राम्रो पाइन्छ, पैसा पनि राम्रो कमाइ हुन्छ, बिनिता र शोभा नामका अरु दुई युवतीले ती किशोरीहरुलाई यही भनेर रोकेका थिए । उनीहरुले भने ‘कोठाभित्रै खाना खुवाउँथे बाहिर निस्कन दिँदैनथे ।’

भारत जाने बेला जमुनाह नाकामा चेकजाँचबाट जोगिनका लागि किशोरीको कपाल काटिएको प्रहरीले जनाएको छ । एकैघरका  दुई छोरीहरु पढिरहेकै अवस्थामा एक्कासी बेपत्ता भएपछि परिवारमा रुवाबासी भएको थियो । किशोरीका परिवारका सदस्यका अनुसार ३० गते मोवाइल नेटवर्कको आधारमा बाँकेमा रहेको थाहा भएपछि रातारात नेपालगञ्ज आएको हुन् । प्रहरीले ती चालकलाई दिल्लीबाट फर्किंदै गरेको अवस्थामा जमुनाहबाट पक्राउ ग¥यो भने होटल सञ्चालक बिनितालाई होटलबाटै नियन्त्रणमा लियो ।

बस चालकको फेसबुक आइडी, होटलमा बिनिताले बोलाउने नाम र नागरिकताको नाम सबै फरक रहेको प्रहरीको प्रारम्भिक अनुसन्धान देखाएको छ । उनले गोपाल भुसालको नामबाट फेसबुक आइडी चलाउने गरेका थिए भने होटलमा केशव नामबाट बोलाउने गरिन्थ्यो तर बास्तविक नाम नुमाकान्त भुसाल रहेको पाइएको हो । 

प्रहरीका अनुसार नुमाकान्तले दिल्लीमा आफूले खाजा खाने होटलमा काम मिलाइदिनका लागि ती किशोरीहरुलाई लैजान लागेको बताएका छन् । ‘आर्थिक अवस्था पनि कमजोर भएका ती किशोरीहरु प्रलोभनमा परेर आएको जस्तो देखिन्छ’ जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दाफाँट इन्चार्ज बीरबहादुर थापाले भन्नुभयो, ‘पछिल्लो समय प्रविधिका कारण बेचविखनको जोखिम बढेर गएको छ । माइती नेपालका अनुसार पछिल्लो समय प्रविधिको विकासँगै मानव बेचबिखनको तौरतरिका पनि फरक भएको छ । 

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.