२०७५ श्रावण ३ बिहिबार 22:44:22

बन्दकर्ताले बलेरो जिपमा आगजनी गरे

सिन्धुली । सिन्धुलीमा आज बिहान विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताले एउटा बलेरो जिपमा आगजनी गरेका छन् । बन्दकर्ताले बिपी राजमार्गअन्तर्गत भद्रकाली गाविस–२ चियाबारीमा सिरहा जाँदै गरेको बलेरोमा आगजनी गरेका हुन् । काठमाडौँबाट सिरहा जाँदै गरेको स१च ११४४ नंको बलेरोमा बन्दकर्ताले आगजनी गर्दा बलेरो पुर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार पाँच सातजना बन्दकर्ताले गाडी रोकी बन्दको अवज्ञा गरेको भन्दै आगो लगाइदिएका थिए ।

जिप्रका सिन्धुलीका प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जियारले बलेरोमा आगजनी गर्नेलाई पक्राउ गरी कारबाही गर्ने बताउनुभएको छ । आगजनी भएको बलेरोमा कुनै पनि यात्रु नरहेको बलेरो चालक रामचन्द्र महतोले बताउनुभयो । बन्दकर्ताले आफूलाई गाडीबाट निकालेर आगो लगाएको उहाँको भनाइ छ ।

यता सिन्धुलीमा आज विगतमा हुने गरेको विप्लव माओवादीको बन्द प्रभावकारी नहुने गरेको भन्दै विद्यालय सञ्चालन गर्ने भनिए तापनि चियाबारीमा एक बलेरोमा आगजनी भएपछि एकाएक बन्द गरिएको छ । यस्तै सिन्धुलीमाढीमा खुलेका पसल पनि गाडीमा आगजनी भएको खबर थाहा पाएपछि बन्द गरिएको छ । रासस

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.