२०७५ मङ्सिर ५ बुधबार 04:24:45

तीन वर्षकी बालिकालाई समेत छोडेन बलात्कारीले, यसकारण बढ्दैछ अपराध

radio-saugat

दोलखा, कात्तिक २७ – गएको बिहीबार बिहानी १८ वर्षकी एक युवतीका लागि कहाली लाग्दो क्षण बन्यो । दोलखाको दक्षिणी मिर्गे गाविस स्थित छिमेकीको घरमा लगाइएको सत्य नारायण पूजामा आमा र बुवासँगै गएकी उनलाई यति ठूलो बिपत्ती आइपर्ला भनेर कहिल्यै कल्पना गरेकी थिइनन् ।

कल्पना गरुन् पनि कसरी ? यस्तो कल्पना एक महिलाले सपनामा समेत देख्न चाहँदिनन् । पूजा चलिरहेको थियो । बिहान झण्डै ४ बजे युवतीकी आमा र बुवा पूजामा व्यस्त भएका बेला युवतीलाई युवकले जबरजस्ती उठाएर नजिकैको कोदोबारीमा लगेर बलात्कार गरे । उनलाई बलात्कार गर्ने नाम्दु–४ का २४ वर्षका गुन्जे नेपाली समेत सत्य नारायण पूजाको निम्तो मान्न पुगेका थिए ।छोरी पूजा स्थलमा नभेटिएपछि खोजी गरियो । छोरी फेला त परिन्, तर कोदोवारीमा चिच्याई रोईकराई गरी रहेको अवस्थामा । अभिभावकको उजुरीपछि बलात्कारमा संलग्न रहेका नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । 

यो त एउटा उदाहरण मात्रै हो । दोलखामा दिन प्रतिदिन बलात्कारका घटनामा वृद्धि भइरहेका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाको तथ्यांकले समेत स्पष्ट पार्छ । आर्थिक वर्ष २०७०/०७१ देखि चालु आर्थिक वर्षको कात्तिक महिनासम्म ३३ वटा बलात्कारका घटना भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक विनोद कुमार सुनुवार भन्नुहुन्छ, दोलखामा अन्य आपराधिक घटनाको तुलनामा बलात्कारका घटना ह्वात्तै बढेको छ ।

प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७०/०७१ मा ८ वटा बलात्कारको घटना भएकोमा घटनामा संलग्न ६ जनालाई पक्राउ गरी जिल्ला अदालत दोलखाले पुर्पक्षका लागि थुनामा पठाएको छ भने दुईजना अझै फरार छन् । आर्थिक वर्ष २०७१/०७२ मा ७ वटा बलात्कारको घटना भएकामा ६ जना पक्राउ परेका थिए । अहिले उनीहरु पुर्पक्षका लागि थुनामा छन् ।  यसरी हेर्दा आर्थिक वर्ष २०७०/०७१ मा भन्दा आर्थिक वर्ष २०७१/०७२ मा बलात्कारको घटनामा कमी आएको देखिन्छ । 

तर आर्थिक वर्ष २०७२/०७३ मा भने बलात्कारको घटना अनेपेक्षित रुपमा बढेको छ । प्रहरी निरीक्षक सुनुवार भन्नुहुन्छ, ‘अघिल्लो आर्थिक वर्ष ०७१/०७२ को तुलनामा आर्थिक वर्ष ०७२/०७३ मा दोब्बर नै वृद्धि भएको देखिन्छ ।’

अघिल्लो आर्थिक वर्ष ७ वटा मात्रै घटना भएकामा यो वर्ष १४ वटा बलाात्कारका घटना भए । यो वर्ष ३ वर्षदेखि १६ वर्ष भन्दा कम उमेर समूहका बालिका बलात्कारीका सिकार भएका छन् । त्यसै वर्ष एक युवतीमाथि सामूहिक बलात्कार समेत भएको थियो । १४ वटा घटनामा संलग्न रहेका मध्ये १७ जना पक्राउ परे भने दुई मुद्दाका दुईजना अभियुक्त अझै फरार छन् ।

चालु आर्थिक वर्ष २०७३/०७४ को ४ महिनाको अवधिमा चारवटै बलात्कारका घटना भएका छन् । जसमा दुईवटा घटनामा ६ वर्षकी बालिकालाई १३ वर्षको बालक र ८ वर्षकी बालिकालाई १८ वर्षका युवकले बलात्कार गरेका छन् ।

घटनामा संलग्न रहेका १३ वर्षका बालकले अश्लिल चलचित्र हेरेपछि त्यसकै सिको गर्दै बालिकालाई खाने कुरा दिई फकाएर बलात्कार गरेको अनुसन्धानबाट खुलेको थियो । चालु वर्ष बलात्कार गरेको आरोपमा एक बालकलाई सुधार गृह पठाइएको, दुईजना पुर्पक्षका लागि थुनामा गएका छन् भने एउटा मुद्दामाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुनुवारले जानकारी दिनुभयो ।

३ वर्षकी बालिका समेत बलात्कारीको सिकार 

दोलखाको उत्तरी गाविसको एक घरमा बेलुकाको समयमा ३ वर्षकी बालिका छिमेकी १३ वर्षको बालकसँग टिभी हेर्दै थिईन् । त्यसबेला बालिकाका अभिभावक कोही पनि थिएनन् ।

अचानक बत्ति गएपछि उनै १३ वर्षका बालकले ३ वर्षिया बालिकालाई छिमेकीको घरको पिढिँमा लगेर बलात्कार गरे । बालकलाई सुधार गृह पठाइएको छ । 

किन बढ्यो बलात्कारका घटना ?

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोद कुमार सुनुवार भन्नुहन्छ, ‘गरिबी, बेरोजगारी, युवामा बढ्दो यौन इच्छा, प्रविधिको विकास, इन्टरनेट तथा अश्लिल चलचित्रको सजिलो पहुँच, कानुनको अज्ञानता तथा सचेतनाको कमि आदि कारणबाट यस्ता घटनामा वृद्धि भएको हो, अहिलेसम्म गरीएको अनुसन्धानबाट मोवाइलमा अश्लिल तस्बिर खिची सामाजिक सञ्जालमा राखिदिन्छु भन्दै धम्क्याएर समेत बलात्कार गर्ने गरेको पाएका छौं ।’ 

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.